दफा २७
उम्मेदवारको मृत्यु भएमा
(१) दफा २४ बमोजिम उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनु भन्दा अघि दलबाट मनोनयन भएको उम्मेदवारको मनोनयनपत्र रीतपूर्वकको ठहर
भईसकेको र आफ्नो नाम फिर्ता नलिएको कुनै उम्मेदवारको मृत्यु भएमा र त्यस्तो मृत्यु भएको लिखित सूचना निज उम्मेदवारको निर्वाचन प्रतिनिधि वा सम्बन्धित दल वा अन्य कुनै व्यक्तिबाट प्राप्त भएमा र त्यस्तो कुरामा निर्वाचन अधिकृत विश्वस्त भएमा निजले त्यस्तो निर्वाचनसँग सम्बन्धित अन्य कार्यक्रम तुरुन्त स्थगित गर्नु पर्नेछ र त्यसको जानकारी आयोगलाई दिनु पर्नेछ ।
(२) दफा २४ बमोजिम उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि कुनै दलबाट मनोनयन भएको उम्मेदवारको मृत्यु भएमा र त्यस्तो मृत्यु भएको लिखित सूचना निज उम्मेदवारको निर्वाचन प्रतिनिधि वा सम्बन्धित दल वा अन्य कुनै व्यक्तिबाट प्राप्त भएमा र त्यस्तो कुरामा निर्वाचन अधिकृत विश्वस्त भएमा निजले त्यस्तो निर्वाचनसँग सम्बन्धित अन्य कार्यक्रम तुरुन्त स्थगित गर्नु पर्नेछ र त्यसको जानकारी आयोगलाई दिनु पर्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम कार्यक्रम स्थगित भएको सूचना अन्य उम्मेदवार समेतको जानकारीको लागि निर्वाचन अधिकृतले आफ्नो कार्यालयमा टाँस्नु पर्नेछ ।
(४) आयोगले उपदफा (१) बमोजिमको जानकारी प्राप्त गरेपछि त्यस्तो निर्वाचनको मतदानको कार्यक्रममा असर नपर्ने गरी उम्मेदवारको मनोनयन सम्बन्धी कार्यक्रम यथाशक्य छिटो पूरा गर्न अर्को कार्यक्रम निर्धारण गरी निर्वाचन अधिकृतलाई पठाउनु पर्नेछ ।
(५) आयोगले उपदफा (२) बमोजिमको जानकारी प्राप्त गरेपछि त्यस्तो निर्वाचनमा मतदान गर्ने मिति लगायत निर्वाचनको लागि यस परिच्छेद बमोजिमको अन्य कार्यक्रम पुन निर्धारण गरी निर्वाचन अधिकृतलाई पठाउनु पर्नेछ ।
(६) उपदफा (१) वा (२) बमोजिम कार्यक्रम स्थगित भएकोमा पहिले मनोनयनपत्र पेश गरी रीतपूर्वकको ठहर भईसकेको वा उम्मेदवारको अन्तिम नामावलीमा नाम रहेको उम्मेदवारले पुन मनोनयनपत्र दाखिला गर्नु पर्ने छैन र जुन दलको उम्मेदवारको मृत्यु भएको हो त्यस्तोदलको तर्फबाट मात्र पुन उम्मेदवार मनोनयन गर्न सकिनेछ ।
(७) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उम्मेदवारको मृत्यु भई निर्वाचनको कार्यक्रम स्थगित गर्नु पर्दा निर्वाचन कार्यक्रममा लेखिए बमोजिमको काम सम्पन्न गर्नु पर्ने अवधि सात दिन भन्दा बढी भएमा पुन अर्को कार्यक्रम प्रकाशन गर्नु पर्ने छैन र सोही कार्यक्रमको समयावधिभित्र मतदानको काममा बाधा नपुग्ने गरी उम्मेदवारको मनोनयन सम्बन्धी काम पूरा गर्नु पर्ने गरी मिलाउनु पर्नेछ ।